प्रदेश सरकार

कृषि विकास निर्देशनालय

गण्डकी प्रदेश, पोखरा

बजार विकास, आर्थिक विश्लेषण तथा तथ्यांक शाखाका गतिविधिहरु


कृषि उपज बजार समस्या समाधान सम्बन्धी बैठक सम्पन्न

मिति २०७५ साल पौष १० गते मंगलबारका दिन कृषि विकास निर्देशनालय, पोखराको आयोजनामा कृषि उपज बजार समस्या समाधान सम्बन्धी बैठक सञ्चालन भएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका श्रीमान् सचिव शरदचन्द्र श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा विभिन्न कृषि उपज थोक बजार व्यवस्थापन समितिका प्रमुख तथा पदाधिकारीहरु, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधिहरु, कृषक समुह÷सहकारीका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । उक्त बैठकमा कृषि उपज बजार सञ्चालनको क्रममा आईपरेका समस्याहरुको बारेमा सरोकारवालाहरु बीच वृहत छलफल गरी आगामी दिनहरुमा समस्या समाधानका लागी विभिन्न निकायहरुले अपनाउनुपर्ने उपायहरुका बारेमा छलफल भएको थियो ।
 

विश्व खाद्य दिवस कार्यक्रम सम्पन्न

मिति २०७५ साल कार्तिक २९ गते बिहिबारका दिन कृषि विकास निर्देशनालय, पोखराको आयोजनामा “हाम्रो पहलः भोक मुक्त विश्व–२०३०” भन्ने मुल नाराका साथ ३८ औ विश्व खाद्य दिवस कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम कृषि विकास निर्देशनालयका प्रमुख श्री विमल थापा क्षेत्रीज्यूको अध्यक्षतामा सञ्चालन भएको थियो । गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री लेख बहादुर थापा मगरज्यूको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, गण्डकी प्रदेश अन्तर्गतका विभिन्न गैरसरकारी संस्था, नागरिक समाज, कृषक समुह, सहकारी, कृषि व्यवसायी, कृषि उपज बजार समितिका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा निर्देशनालयको तर्फबाट प्रमुख श्री विमल थापा क्षेत्रीज्यूले अघिल्लो दिन संघीय संरचनामा प्रदेशस्तरमा कृषि क्षेत्रको विकास सम्बन्धी विभिन्न पक्षहरुमा कृषि विज्ञहरुबाट प्रस्तुत कार्यपत्रहरुको संक्षेप प्रस्तुत भएको थियो । उक्त प्रस्तुतीकरणमा प्रमुख थापाले गण्डकी प्रदेशको समग्र खाद्य सुरक्षाको स्थितिको बारेमा समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका कृषि ज्ञान केन्द्रहरु तथा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रबाट छनौट भई सिफारिस भएका उत्कृष्ट कृषक तथा कृषि व्यवसायीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।